एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन

एक महिनामा पाथीभरामा २० लाख बढी भेटी सङ्कलन


ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा पछिल्लो एक महिनामा २० लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार असार महिनामा पाथीभरामा भक्तजनले चढाएको भेटीका रूपमा २० लाख ४४ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको हो ।

सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको हो ।

पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

तीन हजार ३९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

समितिका कार्यकारी निर्देशक हाङबाङका अनुसार आर्थिक वर्ष २०८१–८१ मा दुई लाख ३१ हजार तीन सय ३४ तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।