परराष्ट्र मन्त्रालयले भन्यो-ढाकामा नेपाली विद्यार्थी सुरक्षित छन्

परराष्ट्र मन्त्रालयले भन्यो-ढाकामा नेपाली विद्यार्थी सुरक्षित छन्


काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो ।

विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

तत्काल कुनै थप सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि अभिभावक र आफन्तले जुनसुकै समयमा दूतावासमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

दूतावासका द्वतीय सचिव योजना बम्जन र रिया केसीलाई सम्पर्क व्यक्ति तोकिएको छ । बम्जनलाई ‌+८८०१८८०६९१०१३ र रियालाई +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

यसअघि दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको थियो ।

बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा मानवीय क्षति बढ्दै गएको छ । हालसम्म ३५ जनाको मृत्यु भएको छ भने देशभर कर्फ्यु लगाइएको छ ।