एक चीन नीतिमा नेपाल प्रतिबद्ध : गृहमन्त्री लेखक

एक चीन नीतिमा नेपाल प्रतिबद्ध : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ । नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिन नेपाल सचेत रहेको लेखकले बताएका थिए ।

भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधै सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे । उनले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्वपूर्ण विकास साझेदार रहेको बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए ।

राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे ।

यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पारे । साथै अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थियो ।