देउवा, कोइराला र सिटौला समूहबीच भागबन्डा नमिल्दा बनेन कोशी सरकार

देउवा, कोइराला र सिटौला समूहबीच भागबन्डा नमिल्दा बनेन कोशी सरकार


कोशी । प्रदेश सरकारमा जाने मन्त्रीहरू समेत केन्द्रले नै छानेको भन्दै असन्तोष बढिरहेको नेपाली कांग्रेसभित्र कोशीका मन्त्रीहरू पनि केन्द्रबाटै छानिँदैछन्। पार्टीको प्रदेश संयन्त्रलाई भूमिकाबिहीन तुल्याउने र सम्पूर्ण निर्णयको अन्तिम अधिकार आफैमा केन्द्रित गर्ने सभापति शेरबहादुर देउवाको शैलीकै कारण लुम्बिनी प्रदेशले असहमति जनाइसकेको छ। केन्द्रले प्रदेशसँग समन्वय नगरी मन्त्री छानेको भन्दै कांग्रेस लुम्बिनी प्रदेश समितिले लिखित असहमति बुझाएको छ।

लुम्बिनी कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्णयप्रति असहमति जनाए पनि कोशी संसदीय दल र प्रदेश समितिले भने केन्द्रबाटै नाम टुंगो लगाइदिन भनेको छ। सोमबार कोशी सरकारमा सामेल हुने बताइरहेको कांग्रेसमा आइतबार साँझसम्म पनि मन्त्रीको नाम टुंगो लागेको छैन। सभापति देउवा, कृष्णप्रसाद सिटौला र शेखर कोइराला समूहबीच भागबन्डामा कुरा मिल्न नसक्दा कांग्रेसको सत्तारोहण अहिलेसम्म अनिश्चित नै छ ।
“केन्द्रले नै मन्त्रीको नाम तोक्ने प्रस्ट छ,” कांग्रेस कोशीका एक पदाधिकारीले भने, तर टिमको भागबन्डा नमिलेकाले अहिलेसम्म केन्द्रले नाम फाइनल गरेको छैन। सरकारमा जान त्यसैले रोकेको हो। संसदका दुई ठूला दल एमाले र कांग्रेसबीचको सात बुँदे सहमति कोशी प्रदेशमा पनि कार्यान्वयन चरणमा आइपुग्दा कांग्रेसभित्र मन्त्रीहरूको नाम टुंग्याउनै हम्मे परिरहेको छ। सभापति देउवाले पहिले नाम टुंगो लगाउने र त्यसलाई प्रदेश समितिको बैठकले सिफारिस गरेको देखिने गरी निर्णय गर्न प्रदेश समिति मौका पर्खेर बसेको छ। कांग्रेस नेताहरू भने – “प्रदेश र केन्द्रको समन्वयमा नाम छानिनेु दाबी गरिरहेका छन्।” केन्द्र र प्रदेशको समन्वयमा मन्त्रीहरूको नाम छानिने छ,” कोशीका सांसदसमेत रहेका केन्द्रीय सदस्य भीम पराजुलीले भने, “सम्भवतः सोमबारसम्म टुंगो लाग्ने आशा छ।” प्रदेश संसदीय दल र पार्टी प्रदेश समितिको पनि नेतृत्वमा रहेका पूर्वमुख्यमन्त्री उद्धव थापाले सोमबार बिहान ११ बजेका लागि विराटनगरमा कांग्रेस कोशी प्रदेशको बैठक बोलाएका छन्।

प्रदेश समितिको उक्त बैठक कांग्रेस कोशी सरकारमा सहभागी हुने, आलोपालो मुख्यमन्त्री बन्ने र अहिलेको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउने निर्णयका लागि बोलाइएको सभापति थापाले बताएका छन्। तर आइतबार साँझसम्म पनि सभापति देउवाले मन्त्री बनाउने सांसदको नाम प्रदेशलाई दिएका छैनन्। यसले सोमबारको कांग्रेस प्रदेशको बैठकले नाम टुंगो नलगाउने सम्भावना बढेको प्रदेशका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए। “भोलि प्रदेश समितिको बैठक बस्दैछ,” कोशीका सांसदसमेत रहेका महामन्त्री राईले भने, “भोलिबाट सैद्धान्तिक छलफल सुरू हुन्छ। बिस्तारै नाम टुंगो लाग्ला।” महामन्त्री राईले यसो भने पनि कांग्रेस संसदीय दलका सांसदहरू प्रदेशले कुनै पनि निर्णय नगर्ने, बरू सभापतिले पठाएको नाम अनुमोदन गर्ने काम मात्रै गर्ने बताउँछन्।

“आइतबार रातभरि र सोमबार बिहानसम्म सभापतिजीले नाम टुंगो लगाए सोमबारै कांग्रेस प्रदेश सरकारमा सहभागी हुन्छ,” कांग्रेसका एक सांसदले भने, “सभापतिले टुंगो लगाउनुभएन भने केन्द्रकै मुख ताकेर बस्छ प्रदेश समिति।” उनका अनुसार प्रदेश दल र पार्टी समिति नेतृत्वले ” सबै कुरा केन्द्रबाटै तय हुनेु जानकारी दिइसकेको छ। एमाले र कांग्रेसले शनिबार सरकारबारेको भागबन्डा टुंगो लगाएका थिए। दुवै दलका प्रदेशस्थित नेताहरूको शनिबार काठमाडौंमा सम्पन्न बैठकले मन्त्रालय भागबन्डाको विषय टुंगो लगाएको हो।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाबीचको बैठकले मुख्यमन्त्रीमा आलोपालोसहित प्रदेशमा चार-चार वटा मन्त्रालय लिने गरी सहमति गरेको थियो। यी दुई दलका नेताहरूले मुख्यमन्त्री पदमा दुवै दलले आलोपालो गर्ने र त्यसको समयको निर्धारण केन्द्रीय गठबन्धन अनुसार गर्ने सहमति भएको छ ।