मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेनले गरे उद्घाटन

मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेनले गरे उद्घाटन


काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन बिहीबार उद्घाटन गरिएको छ । २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा बनाउन थालिएको उक्त भवन मौलिक शैली र स्थानीय संस्कृति झल्किने किसिमको छ ।

महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा बनाएको भवनको बिहीबार महानगरपालिकाका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यो भवनको शिलान्यास कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले गरेका थिए ।

पशुपति क्षेत्र विस्तारका क्रममा २५ वर्षअघि वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नाममा रहेको जग्गामा बनाइएको हो । यो भवनको तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए ।

तर वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको थियो । तर पछिल्लो पटक कोषले निर्माण गर्न पत्र दिएपछि भवन तयार भएको हो ।

कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि भवन बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले नक्साअनुसार सांस्कृतिक र मौलिकताले भरिएको भवन तयार भएको बताए ।