चट्याङले ट्रान्सफर्मर जल्दा तीन दिनदेखि विद्युत अवरुद्ध

चट्याङले ट्रान्सफर्मर जल्दा तीन दिनदेखि विद्युत अवरुद्ध


खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ९० घर विद्युत् उपभोक्ता तीन दिनदेखि अन्धकारमा बस्न बाध्य बनेका छन् । साउन १५ गते साँझ वर्षासँगै परेको चट्याङले ट्रान्सफर्मर जलेपछि खार्मीस्थित सोती, फूलबिसौना, डढेली र खत्रीगाउँमा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।

चट्याङले जलेको ट्रान्सफर्मर मर्मतका लागि तीन दिनपछि प्राविधिक टोली आए पनि अर्को फेर्नुपर्ने भन्दै फर्किएको स्थानीय विक्रम राईले बताए । “विद्युत् अवरुद्ध भएपछि प्राविधिकलाई पटक–पटक फोन ग¥यौँ । तीन दिनपछि आज आउनुभएको थियो । तर अर्को ट्रान्सफर्मर फेर्नुपर्छ भन्दै मर्मत नै नगरी फर्किनुभयो”, उनले भने, “तीन दिनदेखि हामी अन्धकारमा बस्न बाध्य छौँ । कहिले पुनःसञ्चालन गरिदिने हो टुङ्गो छैन । प्राधिकरणको बेवास्ताले हामी मारमा परेका छौँ ।”

तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा मोबाइल फोन स्वीच अफ हुनुका साथै कुटानीपिसानीका काम गर्ने मिलसमेत बन्द भएको स्थानीयले बताएका छन् । आफ्नो गाउँमा विद्युत् सञ्चालन भएपछि उज्यालोका लागि त्यसअघि प्रयोग हुँदै आएको टुकीसमेत विस्थापन गरिएकाले समस्या भएको उपभोक्ताहरुले बताएका छन् ।

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ता आफैले अर्को ट्रान्सफर्मर ढुवानी गरेर ल्याउनुपर्ने भन्दै निरीक्षणमा आएको प्राविधिक फर्किएको स्थानीय बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका सदस्य हर्कराज राईले जानकारी दिए।

“हामीले महसुल तिर्ने हो । महसुल तिरिसकेपछि बिग्रिएको ठाउँमा विद्युत् प्राधिकरणले मर्मत गर्नुपर्छ”, उनले भने, “प्राधिकरणका कर्मचारी गैरजिम्मेवार ढङ्गले प्रस्तुत हुनुभयो । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युत्को ट्रान्सफर्मरसमेत साउन १५ गतेको चट्याङले जलेको जनाइएको छ । विद्युत् ट्रान्सफर्मर जलेपछि निर्मलीडाँडा र बाहुनीडाँकाका स्थानीय उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् । दश स्थानीय तह रहेको जिल्लामा अन्य ठाउँमा पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । पटकपटक अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत गरेर पुनःसञ्चालनमा नल्याउँदा उपभोक्ता हैरानीमा पर्ने गरेका छन् ।

जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउने तथा छिनछिनमा जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले बताएका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जानाले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत प्राधिकरणले बताउँदै आएको छ ।

ट्रान्सफर्मर जलेर अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउनका लागि पहल भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख सोवितबहादुर क्षेत्रीले बताए । “साउन १५ गतेको चट्याङले तीन ठाउँको ट्रान्सफर्मर जलेको भन्ने जानकारी प्राप्त भएको छ । तीनवटै ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ”, उनले भने, “कार्यालयमा गाडी नभएका कारण ट्रान्सफर्मर पठाउन सकिएको छैन । कार्यालयको गाडी विराटनगर गएको छ । उताबाट फर्किएपछि पठाउने तयारी गरेका छौँ ।”

पछिल्लो समय ३३ केभी प्रसारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षेत्रीले बताउनुभएको छ । विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा विस्तार पुगेको छ ।

जिल्लामा विस्तार गरिएको विद्युत् पानी पर्दा, हावा चल्दा र बाढी तथा पहिरो आउनासाथ अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ ।

वर्षातको समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्राधिकरणले प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइँपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुगरी तीन जिल्लामा विस्तार गरिएको छ ।