एक अर्ब भुक्तानी नपाएपछि भारतीय टिभी प्रसारकले बन्द गरिदिए नेपालमा आफ्ना च्यानल

एक अर्ब भुक्तानी नपाएपछि भारतीय टिभी प्रसारकले बन्द गरिदिए नेपालमा आफ्ना च्यानल


काठमाडौं- नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द भएको छ।

स्टार, सोनी, जी र कलर्सले भुक्तानी नपाएको भन्दै आफ्ना च्यानलको प्रसारण नेपालमा बन्द गरेका हुन्। आलाकार्ट लागू भएपछि अहिले भारतीय च्यानलको नेपाली वितरक वर्ल्डलिंकको सहायक कम्पनी हो। सेवा प्रदायकहरुलाई उसले नै च्यानलको कनेक्सन दिंदै आएको छ।

स्रोतका अनुसार उसले भारतीय ब्रोडकास्टरलाई करिब १ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ।

प्रसारण रोकिएका च्यानलको डिस्प्लेमा सेवा प्रदायकहरुले च्यानल ब्रोडकास्टर र उनीहरुका स्थानीय वितरकबीच आर्थिक कारोबारमा समस्या देखिएको भन्दै च्यानल प्रसारण हुन नसकेको उल्लेख गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले गत फागुनदेखि आलाकार्ट मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो।

ग्राहकहरुले आफूले रोजेका च्यानलको मात्रै शुल्क तिर्नुपर्ने व्यवस्थासहित आलाकार्ट मूल्य प्रणाली ल्याइए पनि आइपीटिभी सेवा प्रदायकले कार्यान्वयन गर्न अटेरी गरेपछि सरकारले विदेशी मुद्रा सटही सिफारिस गर्न रोकेको थियो। विदेशी मुद्रा सटही सिफारिस रोकिएपछि नेपाली वितरकले भुक्तानी गर्न पाएन।

विभागले सेवा प्रदायकहरुलाई आवश्यक तयारी सकेर जानकारी गराउन ताकेता गरेपनि वितरकले अटेरी गरेका थिए। विभागले करिब ५ महिनाअघि नै सर्त पालना नगरे प्रसारण रोक्ने चेतावनीसहितको पत्र काटेको थियो।

तर, सेवा प्रदायकहरुले आलाकार्ट मूल्य प्रणाली कार्यान्वयनमा बेवास्ता गरिरहे। त्यसैको असर अग्रिम पैसा तिरिसकेपनि ग्राहकहरु चार वटा नेटवर्कका च्यानल हेर्नबाट वञ्चित भएका हुन्।

 

विभागले च्यानल ब्रोडकास्टर र वितरकलाई पत्राचार गर्दै आलाकार्ट मूल्य प्रणाली लागू नगरे च्यानल नै उपलब्ध नगराउन भनेको थियो। सरकारले आलाकार्ट मूल्य प्रणालीअनुसार सेवा प्रदायकले सम्झौता नगरे ग्राहकहरुलाई भुक्तानी नै नगर्न सचेत गराएको थियो।

सरकारले इन्टरनेट र टेलिभिजन च्यानल एउटै प्याकेज (बन्डलिङ) गरी बिक्री गर्न रोक लगाइसकेको छ। टेलिभिजन प्रसारणबापत मासिक अधिकतम ५०० रुपैयाँ र इन्टरनेट सेवाको शुल्क अहिले तिर्नुपरिरहेको संयुक्त शुल्कभन्दा बढी हुन नहुने व्यवस्था छ।

इन्टरनेट सेवासँग टेलिभिजन सेवाको शुल्क आवद्ध नगरी छुट्टाछुट्टै देखिने गरी सेवा उपलब्ध गराउन सरकारले सेवा प्रदायकहरुलाई सूचित गराइसकेको छ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष ध्रुव शर्माले इन्टरनेट सेवा प्रदायकहरुले टेलिभिजन उद्योग नै ध्वस्त बनाउने काम गरेको आरोप लगाए। इन्टरनेट सेवा प्रदायकहरुले टेलिभिजन सेवालाई कहिल्यै पनि छुट्याएर हेर्न नचाहेकाले अहिलेको परिस्थिति सृजना भएको उनको भनाइ छ। सरकारले नै पटकपटक इन्टरनेट र टेलिभिजन सेवालाई बन्डलिङ गरेर नबेच्न भनेको अवस्थामा सेवा प्रदायकहरुले बेवास्ता नगर्दा च्यानल बन्दको अवस्था आएको उनले बताए।

‘टेलिभिजन सेवालाई इन्टरनेटकै मूल्यमा दिने प्रवृत्तिले समस्या निम्त्याएको हो। सरकारले तोकेको शुल्कअनुसार टेलिभिजन सेवा सञ्चालन नगर्दा समस्या आयो। ग्राहकहरुलाई टेलिभिजन सेवामा थाम्ने काम नै भएन। राज्यलाई तिर्नुपर्ने कर नतिरेपछि त सेवा कटौती हुने भइहाल्यो।