सौर्य एयरलाइन्सका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज

सौर्य एयरलाइन्सका पाइलट शाक्य अस्पतालबाट डिस्चार्ज


काठमाडौ । विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका पाइलट मनीषरत्न शाक्य अस्पतालबाट नौ दिनमा डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले उनलाई बिहीबार बेलुका डिस्चार्ज गरेको हो । उनको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालकी मेडिकल डाइरेक्टर डा मीना थापाले बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत ९ साउनमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्य घाइते भएका थिए । पोखरा जान लागेको विमान उडेको करिब २० सेकेन्डमै खसेर विमानस्थलको पूर्वतर्फको खाली ठाउँमा बज्रिएको थियो । जसक्रममा कन्टेनरमा ठोक्किएर विमान दुई टुक्रा भएको थियो ।

पाइलट र कोपाइलट रहेको ककपिट कन्टनेरमै अड्किएको थियो । आगोले छुनुअघि नै पाइलट शाक्य टुक्रिएको ककपिटबाट बाहिर निस्किएका थिए । लगत्तै सुरक्षाकर्मीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएका थिए । पाइलट शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा बाहिरी चोट लागेको थियो । ढाडको एउटा हड्डीका साथै देब्रेतर्फका तीनवटा करङ भाँचिएका थिए । नियमित मर्मतका लागि जहाज पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । विमानमा सौर्य एयरलाइन्सकै कर्मचारी, प्राविधिक र उनीहरूका आफन्त सवार थिए । सरकारले जाँचबुझ आयोग गठन गरी सो दुर्घटनाको छानबिन गरिरहेको छ ।