अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवारमा चयन

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट आधिकारिक रुपमा राष्ट्रपतिको उम्मेदवारमा चयन


अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यस अघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी) ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ ।

भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । ह्यारिस अमेरिकामा मुख्य दलको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला बन्नुभएको छ ।

आउँदो नोभेम्बरमा हुने चुनावमा पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पराजित गर्न सकेमा उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । यसैबीच ह्यारिस उम्मेदवार बनेपछि उहाँको चुनावी प्रचारका लागि चन्दा दिने क्रम पनि बढेको छ ।

अहिलेसम्म ट्रम्पको चुनावी अभियान बैंक खातामा ३२ करोड ७० लाख अमेरिकी डलर चन्दा जम्मा हुँदा ह्यारिसको चुनावी अभियान खातामा ५४ करोड डलर जम्मा भएको छ । जसमध्ये १२ करोड राष्ट्रपति बाइडेनले उम्मेदवार त्याग्नु अघिको हो भने बाँकी बाइडेनले प्रतिस्पर्धा छाडेपछिको हो ।