नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९ प्रतिशत बढ्यो

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९ प्रतिशत बढ्यो


काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९ प्रतिशत बढेको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधिमा खुद नाफा ५ अर्ब १९ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ३ अर्ब ७२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्नुले नाफामा टेवा पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १२ अर्ब ३० करोड रहेकोमा गत आर्थिक वर्ष १५ अर्ब १ करोड पुगेको छ ।

त्यस्तै बैंकले लोन लस प्रोभिजनवापत ३ अर्ब २० करोड रुपैयाँ छुट्याएको छ । बैंकको नाफा बढे पनि वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड ऋणात्मक छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको कम्पनीको बजार मूल्य बिहीबार २४९ रुपैयाँ छ ।

बैंकको कर्जा प्रवाह एक वर्षको अवधिमा जम्मा १.५४ प्रतिशत बढेको छ । असार मसान्तसम्म बैंकले ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै निक्षेप संकलन भने १३ प्रतिशत बढेको छ ।

असार मसान्तसम्म निक्षेप संकलन ४ खर्ब ३ अर्ब रुपैयाँ छ । ३४ अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा ३० अर्ब ५६ करोड रुपैयाँ छ । बैंकको निष्क्रिय कर्जा १.२१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १.६६ प्रतिशत थियो ।