फास्ट ट्रयाकअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

फास्ट ट्रयाकअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु


काठमाडौँ- निर्माणाधीन काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको दुबैतर्फ ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको बकैया गाउँपालिकास्थित लामो धेद्रे सुरुङको स्विच थिचेर ब्रेक थ्रु भएको घोषणा गरेका हुन् ।

प्याकेज नम्बर २ मा रहेको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङ मार्गको जोडी सुरुङमध्ये १,६५३ मिटर लम्बाई रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज ब्रेक थ्रु भएको नेपाली सेनाले जानकारी दिएको छ । यसअघि यही जेठ ४ गते लेनडाँडा सुरुङ मार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । कुल ७०.९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङमार्ग रहेको छ ।

स आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।

२१ वैशाख २०७४ को निर्णय अनुसार काठमाडौं तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको हो । जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ ।