शेयर बजारमा २ खर्ब बढी पुँजी गुमेपछि

शेयर बजारमा २ खर्ब बढी पुँजी गुमेपछि


काठमाडौ । एक महिनादेखि लगातार बढिरहेको शेयरबजार आज एक्कासी घट्दा लगानीकर्ताको २ खर्ब ३० अर्बभन्दा बढी पुँजी गुमेको छ ।

सोमबार ४४ खर्ब ३८ अर्ब ७२ करोड पुँजीकरण रहेको शेयर बजारमा मंगलबार उक्त अंक ४२ खर्ब ८ अर्ब ४६ करोडमा झर्‍यो । आज नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकमले कीर्तिमान राख्यो । बजारमा २३ अर्ब ७१ करोड रूपैयाँभन्दा बढीको कारोबार हुँदा १४५.०५ बिन्दु घटेर २६५१.३२ मा अडिएको छ ।

बुल रन तय गरेको बजारमा करेक्सन आउँदा लगानीकर्ताको पुँजी घटेको बताइन्छ ।

शेयर विश्लेषक डा. केशव श्रेष्ठले इन्डेक्स २७०० पुगेपछि नाफा बुक गर्नेहरू बढ्दा करेक्सन आएको बताए । स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की लगातारको उछालले पनि बजारले करेक्सन खोजेको बताए ।