बङ्गलादेशमा हिंसा रोकेर देश निर्माणमा जुट्न अन्तरिम सरकारको आग्रह

बङ्गलादेशमा हिंसा रोकेर देश निर्माणमा जुट्न अन्तरिम सरकारको आग्रह


बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लाग्नुभएका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गरेका छन् । उपचारका लागि फ्रान्समा रहेका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह गरेको बीबीसीले जनाएको छ । उनी आज ढाका गएर शपथ लिने तयारी भइरहेको छ ।

राष्ट्रपति र सेना प्रमुखले आन्दोलनरत विद्यार्थीसँग छलफल गरेपछि ८४ वर्षीय नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन लागिएको हो । विद्यार्थीले शुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् ।

यसैबीच गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएकोमा हिजो अदालतले पुनरावेदनमा उनलाई श्रम सजायबाट सफाइ दिएको बीबीसीले जनाएको छ ।

यसैगरी बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन एससीबीएले पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशमा सुपुर्दगी गर्न भारतलाई आग्रह गरेको छ । बङ्गलादेशमा भएको हिंसामा निर्दोष नागरिकको ज्यान जानुमा उनीहरू जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्ने बताइएको हो ।

आरक्षण विरोधी आन्दोलनमा अहिलेसम्म ४ सय ५० भन्दा धेरै नागरिकको ज्यान गएको छ ।