केन्द्रीय समितिमा डा राणाको सुझावः ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरौँ

केन्द्रीय समितिमा डा राणाको सुझावः ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरौँ


काठमाडाैं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–२०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको नीति लिएको भए पनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गरे । केन्द्रीय सदस्य डा राणाले भने, “समावेशिताका विषयमा मैले पहिल्यैदेखि प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउँ भन्दै आएको छु, यो मेरो सुझाव हो ।”

पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राखे । केन्द्रीय सदस्य डा राणाले स्थानीय तहमा लैङ्गिक र सामाजिक समावेशिताको पनि सामाजिक ‘अडिट’ गर्नुपर्ने, स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधिहरूले गरेका कामहरूका साथै पार्टीको केन्द्र र प्रदेश तहमा भए गरेका समग्र कामको अनुगमन तथा मूल्याङ्कन गर्न एक छुट्टै संयन्त्रको निर्माण गर्नुपर्ने धारणा राख्े।

पार्टीका कुनै पनि विभागको अलग्गै ‘वेबसाइट’ बनाएर त्यसमा ती विभागका कामहरूको प्रतिवेदन अद्यावधिक गरी राख्नुपर्ने र यसो गर्दा पार्टीका सबै विभागका क्रियाकलाप खुला रूपमा सबैले अध्ययन गर्न सक्ने हुनुपर्ने बताए । डा राणाले कामको प्रभावकारिता र प्रतिबद्धताका आधारमा भ्रातृ संस्था या शुभेच्छुक संस्थामा सदस्य तथा पदाधिकारी नियुक्त गरिनुपर्ने र थप जिम्मेवारी दिनुपर्ने पनि बताए ।