बडिगाड पहिरो : ५० परिवार विस्थापित

बडिगाड पहिरो : ५० परिवार विस्थापित


ढोरपाटन -बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।

हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । पहिरोका कारण खानेपानी, विद्युत् आपूर्ति हुन सकेको छैन । बालबालिका र वृद्ध वृद्धालाई बढी समस्या परेको छ ।

स्थानीय भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको दुखेसो प्रतिनिधिसँग पोखे । आफ्नो घर वरपरका बस्ती पहिरोको जोखिममा रहेका उनले बताए ।

विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक स्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उनले बताए ।

पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अति आवश्यक सामग्री उपलब्ध गराएको भन्दै दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेको उनले बताए ।