सरकारले युवा पलायन रोक्न आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ : शेखर कोइराला

सरकारले युवा पलायन रोक्न आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ : शेखर कोइराला


काठमाडौँ ।नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आज आयोजना गरेको ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा उनले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए । “युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे सरकारले आवश्यक कार्य योजना बनाउन जरुरी छ”, नेता कोइरालाले भने, “नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्छ । युवा पलायन रोक्न राज्यले उनीहरूलाई कसरी ‘इन्गेज’ गराउने हो त्यसतर्फ ध्यान दिइनुपर्छ । स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवारी अभिभावको पनि हो ।”

कोइरालाले व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अवलम्बन गर्दै स्वरोजगार र उद्यमशीलताको विकासका लागि युवालाई प्रोत्साहित गरिनुपर्ने खाँचो औँल्याए। देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले पनि उद्यमशील मानसिकतासहित स्वदेशमै केही गर्ने सोच निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसँग जोडिएर आएका प्रश्नलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने कोइरालाले बताए । वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारी सिर्जनाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।