गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०८०/८१ मा ३९ करोड ८५ लाख ३३ हजार राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा गएको आर्थिक वर्षमा ३ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख सुरज बस्यालले बताए ।
आर्थिक वर्ष ०७९/८० मा ३६ करोड ७२ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा ३ करोड १२ लाख ९१ हजार राजस्व संकलन भएको हो ।
कार्यालयका अनुसार ८.५ प्रतिशत राजस्व संकलन वृद्धि भएको छ । गत आर्थिक वर्षमा आय कर २१ करोड १ लाख ९ हजार, घर भाडा कर १ करोड ३ लाख ४२ बजार, व्याज कर १ करोड २ लाख २५ हजार, भ्याट १५ करोड ८३ लाख ९३ हजार र अन्तः शुल्क कर ९४ लाख ५८ हजार संकलन भएको बस्यालले बताए ।
करदाता सेवा कार्यालय गुल्मीले एक वर्षको अवधिमा १२ ठाउँमा करदाता शिक्षा प्रदान गरेको कार्यालय प्रमुख बस्यालले बताए । नियमित बजार अनुगमन र आयकर संकलन गर्न छुट सुविधाको प्रयोग गराउन सचेतना लगायतका कार्यले राजस्व संकलनमा वृद्धि भएको कार्यालय जनाएको छ ।
जिल्लामा १३ हजार २८७ करदाता मध्ये ११ हजार ४९५ जना करदाता सञ्चालनमा छन् । त्यसमध्ये ३ हजारको विवरण बुझाउन बाँकी छ ।
प्रतिक्रिया