काठमाडौं । नवलपरासीको डेढगाउँमा १५ करोड ३२ लाख रुपैयाँमा बनेको सुविधासम्पन्न आधारभूत अस्पताल भवन उपयोगविहीन बनेको छ । निर्माण कम्पनीले भुक्तानी नपाउँदा ५ महिनादेखि उपयोगविहीन भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो ।
‘निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,’ बस्नेतले भने । बौदिकाली गाउँपालिका–२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन ।
निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताए । अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।
प्रतिक्रिया