काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता कायम गरी मुलुकको अर्थतन्त्रलाई चलायमान गर्न दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत सांगीतिक काव्य गोष्ठी कार्यक्रममा गृहमन्त्री लेखकले विगत डेढ वर्षको अवधिमा सत्ता समीकरण फेरिरहँदा पूँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताए ।
विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशा तिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको उनले बताए ।
विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न गठबन्धनको सरकार गठन भएको उनको भनाइ छ ।
देशमा स्वदेशी एवम् विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उनले बताए ।
गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेन्डा रहेको उनले बताए ।
प्रतिक्रिया