४ हजार ८ सय मिटरको उचाइमा रहेको ‘दामोदर कुण्ड’ जाने कसरी (फोटो)

४ हजार ८ सय मिटरको उचाइमा रहेको ‘दामोदर कुण्ड’ जाने कसरी (फोटो)


मुस्ताङ । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने प्रसिद्ध धार्मिक स्थल दामोदर कुण्ड धार्मिक र प्रकृतिको मनोरम सङ्गम स्थल हो । कालिगण्डकी नदीको उद्गम यस क्षेत्र दामोदर हिमशृङ्खलाको काखमा अवस्थित छ । दामोदर कुण्डमा स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कुण्डमा स्नान गर्न नेपाली तथा भारतीय हिन्दु तीर्थालु भक्तजनहरू पुग्ने गर्दछन् ।
समुन्द्री सतह देखि ४ हजार ८ सय मिटरको उचाइमा रहेको दामोदर कुण्ड हिन्दु र बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थलका रूपमा परिचित छ । दामोदर कुण्डमा पुग्न हावापानीका हिसाबले जेठ देखि साउन महिना सम्म उपयुक्त हुन्छ । दामोदर कुण्डमा स्नान गर्न विशेष गरी जनै पूर्णिमा र चैते दशैका दिन भक्तजनहरू पुग्ने गर्दछन् । यहाँ पाँच वटा कुण्डहरू छन् । भक्तजनहरूले दुई वटा ठुला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्त्व छ ।
कालिगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङ सम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी साधनको यात्रापछि यारा गाउँ पुग्न सकिन्छ । यारा गाउँ देखि माथि झुमा ठाटी सम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजनहरू याराबाट नै घोडाको यात्रा गर्दछन् ।
याराबाट ५ घण्टा घोडा र करिब पाँच घण्टा नै पैदल यात्रापछि दामोदर कुण्ड पुग्न सकिन्छ । सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिन पूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि पालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । असार देखि साउन महिना सम्म धर्मशालामा निःशुल्क भोजनको पनि व्यवस्था मिलाइएको हुन्छ ।