काठमाडौं । विभिन्न सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा सरकार संरक्षित आतंक र गुन्डागर्दी भएको आरोप लगाएको छन्।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीसहित सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएकोप्रति आपत्ति जनाएका हुन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागमा आफ्नो अनुकूलको विभागीय प्रमुख नतोकिए जे पनि हुन सक्छ भन्ने सत्तारुढ पार्टी निकटको विद्यार्थी संगठनका नेताले दिएको धम्कीपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालय जान नसकिरहेको र सत्तारुढ पार्टी समर्थित नै अर्को एक जना विद्यार्थी नेताले विश्वविद्यालयले लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकको छातीमा समातेर पछारेका जस्ता अत्यन्त अमानवीय र घृणित घटनाप्रति आपत्ति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेपमा राजीनामा दिएको घटना यसको पछिल्लो उदाहरण हो । सत्ता समर्थित पार्टीका भ्रातृ संस्थाका सरकार र प्रशासन संरक्षित यस्ता कार्यबाट ज्ञान उत्पादनको केन्द्रमा प्राध्यापकहरूले नै ज्यान जोगाउन कठिन हुने अवस्था सिर्जना हुनु र विश्वविद्यालयमा आतंकको स्थिति सिर्जना हुनुको पछाडि सरकारको स्पष्ट संलग्नता पुष्टि भएको छ ।’
देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने गुन्डाहरूलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गरेको छ। त्रिविमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकका विरुद्ध शुक्रवार बिहान ११ बजे त्रिवि कीर्तिपुरमा संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ।
प्रतिक्रिया