संगीत उद्योग संघमा मानव बेचबिखन ब्यूरोले किन हान्यो छापा ? यस्तो छ कारण

संगीत उद्योग संघमा मानव बेचबिखन ब्यूरोले किन हान्यो छापा ? यस्तो छ कारण


काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार संगीत उद्योग संघको अनामनगरस्थित कार्यालयमा छापा हान्यो ।

ब्यूरोको टोलीले छापा हानेर लेटर प्याड, हार्ड डिस्क, सीपीयू, माइन्युट बुक बरामद गरेको छ । छापा हान्नु तीन दिनअघि ब्यूरोको टोलीले संघीय उद्योग संघका अध्यक्ष सूर्यबहादुर राना मगरलाई बोलाएर सोधपुछ समेत गरेको थियो । त्यसको तीन दिनपछि छापा हानेर कागजात र सीपीयू समेत प्रहरीले बरामद गरेको छ ।

ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार २० लाख रुपैयाँ बुझाए कलाकार बनाएर अष्ट्रेलिया पठाउने भन्ने अभिव्यक्ति अध्यक्ष राना मगरले दिएपछि संगीत उद्योगसँग अनुसन्धानमा तानिएको बताए ।

‘२० लाख बुझाएर अष्ट्रेलिया पठाइदिने भनेर उहाँले बोल्नु भएको रहेछ। तर, आफूले बोलिएका अन्य अंशहरु काटेर त्यो मात्रै सार्वजनिक गरिएको उनको दाबी छ । थप विषय अनुसन्धानबाट खुल्नेछ ।’ ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले अनलाइनखबरसँग भने ।

संघका अध्यक्ष राना मगरको टोलीले ४०/४२ जनालाई कुनै सांगेतिक कार्यक्रमको बाहनामा गैर कलाकारलाई समेत अष्ट्रेलिया पठाउन लागेको आरोप लागेको छ । तर, अहिलेसम्म कोही पनि पीडित भन्दै प्रहरीकोमा नआएको एसपी मिश्रले बताएका छन् ।

अहिलेसम्म भने मानव बेचबिखन तथा ओसार पसार पुष्टि हुनेगरी कुनै डकुमेन्ट फेला नपरेको प्रहरीले जनाएको छ । बरामद गरिएको सीपीयू लगायतबाट केही प्रमाणहरु भेटिन सक्छन् भन्ने हिसाबले अनुसन्धान अघि बढाइने उनले बताए ।

कागजात तथा सीपीयु बरामद गरिए पनि संघका अध्यक्ष राना मगरलाई पक्राउ गरेर अहिले म्याद थप गर्ने पक्षमा प्रहरी छैन । ‘अहिले नै पक्राउ परेर मुद्दा चलाइहाल्नुपर्ने प्रमाण भेटिएको छैन । प्रमाण भेटिएका बखत उहाँलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइन्छ’, एसपी मिश्रले भने ।