भैँसीले उल्टै बाघलाई कसरी मार्‍यो?

भैँसीले उल्टै बाघलाई कसरी मार्‍यो?


सामान्यतया बाघले मानिस तथा अन्य जनावरलाई आक्रमण गरेर मार्छ। तर मकवानपुरमा भैँसीले बाघ मार्‍यो। यो कसरी सम्भव भयो? धेरैलाई खुलदुली लागिरहेको हुनुपर्छ।

मकवानपुरको मनहरि गाउँपालिका-६, प्रतापपुरस्थित गोठमा रहेको दुहुना भैँसी बिहीबार बिहानै अत्तालिएर कराएपछि भैँसीधनी बलबहादुर राईको निद्रा खुल्यो।

‘बिहान यस्तै ३ बजेतिर भैँसी अत्तालिएर बेस्सरी करायो,’ राईले भने, ‘भैँसी ब्याएको १ महिना भयो। अस्ति ५ दिनअघि मात्रै पाडो मरेको थियो। त्यसयता बच्चा खोजेर होला प्रायः कराइरहेकै हुन्थ्यो। तर एक्कासि आत्तिएर दाम्लै चुँडालौँलाझैँ गरी कराउन थालेपछि गोठमा हेर्न जाँदा बाघ पो लम्पसार परेको देखेँ।’

केही दिनदेखि सोही गाउँवरपर डुलिरहेको बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्जको टोलीले निकै प्रयास गरेको थियो। दुईवटा हात्ती र प्राविधिकसहितको टोलीले फेला पार्न नसकेको त्यही बाघ बलबहादुर राईको भैँसीगोठमा पसेको रहेछ।

बलबहादुर भन्छन्, ‘पाडोको शोकमा रहेको भैँसीले त्यही तोडमा बाघलाई मारेको हुनसक्छ। हामीलाई पनि लात्ता हान्ने, दूध दुहुन नदिने, नौलो मान्छे गोठ वरपरआए दाम्लै छिनालेर हानौँलाझैँ गर्ने भएको थियो।’

बलबहादुर गोठमा पुग्दा भैँसीको गर्धनबाट रगत बगिरहेको थियो। पाटेबाघ भने हल न चलको अवस्थामा ढलिरहेको थियो।

यो देखेपछि उनले हत्तपत्त वडाध्यक्ष युवराज थपलियालाई खबर गरे। वडाध्यक्ष थपलिया टोलीसहित तुरुन्तै घटनास्थल आइपुगे। थपलियाले निकुञ्जमा खबर गरिदिए। निकुञ्जको टोली पनि केही बेरमै घटनास्थल आइपुग्यो।

‘अचेत अवस्थामा रहेको बाघ मरिसेकेको रहेछ। हामीले त बेहोस भएको होला भनेर हेर्नै डराइरहेका थियौँ’, वडाध्यक्ष थपलियाले भने, ‘बाघ बूढो रहेछ। केही दिनदेखि गाउँवरपर नै घुमिरहेको थाहा थियो। गाउँका सबै त्रसित थिए। रातमा सिकार गर्न आएको बाघ नै पो मरेछ।’

चितवन राष्ट्रिय निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बूढो भएकाले भैँसीले हान्दा मरेको अनुमान गरेको छ। घरपालुवा जनावरलाई बाघले मारेका घटना थुप्रै हुने गरे पनि घरपालुवा जनावरले बाघ मारेको घटना भने पहिलोपटक थाहा पाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन बताउँछन्।

‘भैँसीले नै बाघ मारेको घटना त यसअघि घटेको थिएन’, पुनले भने, ‘बाघ निकै दुब्लो रहेछ। सिकार गर्न नसक्ने अवस्थामा पुगेको उक्त बाघ बिरामीसमेत रहेको पाइयो। घाँटीभन्दा तल गर्धनमा दुईवटा घाउ रहेछन्। त्यसमा कीरा परिसकेको रहेछ। बाघ आफैँ कमजोर अवस्थामा रहेका कारण भैँसीकै आक्रमणबाट मरेको होला।’

निकुञ्जअन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मरेको बाघलाई निकुञ्जको कार्यलयमा ल्याइदिएको निकुञ्ज प्रमुख पुनले बताए।