अमेरिकी चुनावमा टिम वाल्जले स्वीकारे उपराष्ट्रपतिको उम्मेदवारी

अमेरिकी चुनावमा टिम वाल्जले स्वीकारे उपराष्ट्रपतिको उम्मेदवारी


काठमाडौं । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति पदका लागि चयन गरिएका टिम वाल्जले उम्मेदवारी स्वीकार गरेका छन् । वाल्जले सिकागोमा जारी पार्टीको राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा उपराष्ट्रपतिको दौडमा सामेल भएका हुन् ।

‘अमेरिकाको उपराष्ट्रपतिका लागि तपाईंको मनोनयन स्वीकार गर्न पाउनु मेरो जीवनको सम्मान हो । हामी यो देशलाई माया गर्छौं । त्यसैले त हामी सबै आज राति अबेसम्म पनि एउटा सुन्दर कारणका लागि भेला भएका छौं,’ वाल्जले पार्टी अधिवेशनमा भनेका छन् ।

पार्टी प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा मिनेसोटाका गभर्नरले वाल्जले पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै अमेरिकीहरूले उल्टो बाटोमा हिँड्न नजान्ने बताए । ‘हामी पछाडी फर्केने छैनौं,’ वाल्जले भने । ट्रम्पले उपराष्ट्रपतिको उम्मेद्वारमा जेडी भान्सलाई चयन गरिसकेका छन् ।

पार्टीको अधिवेशनका क्रममा बोल्दै पूर्वराष्ट्रपति बिल क्लिन्टनले राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले वाल्जलाई ‘रनिङ मेट’ को रूपमा चयन गरेर निकै राम्रो काम गरेको बताए । ‘ह्यारिस र वाल्जलाई अमेरिकीले निर्वाचित गराउँदा त्यो उनीहरूको मात्र नभइ, सबैका लागि गर्व गर्ने अवसर हुनेछ,’ उनले भने ।

पूर्वशिक्षक तथा सुरक्षा अधिकारी वाल्ज २०१९ देखि मिनिसोटा राज्यको गर्भनर छन् । त्यसअघि उनी २००७ देखि २०१९ सम्म अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका सदस्य थिए ।