प्रत्येक वर्ष गर्मीमा टर्कीको समुद्र तटमा यति धेरै भीड हुन्छ कि तौलिया राख्ने ठाउँ हुँदैन । तर, यो वर्ष परिदृष्य अर्कै बनेको छ ।
सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पर्यटनबाट नाफा बढेको छ । अघिल्लो वर्षको तुलनामा नाफा १२ प्रतिशतले बढेको छ भने पर्यटकको संख्या १५ प्रतिशतले बढेको छ ।
तर, टर्कीको पर्यटन क्षेत्रको अवस्था यस सरकारी तथ्यांकबाट पूर्णतया फरक छ । त्यहाँको पर्यटन क्षेत्रको गति सुस्त भएको छ । ‘जुलाई महिनामा होटलका कोठाहरू खाली भएको यो वर्षहरूमा पहिलो पटक हो,’ टुकोनफेड, पर्यटन संगठनका मेहमेट जेम भन्छन् ।
कति घटे पर्यटक ?
यसपटक होटलका कुल कोठामध्ये ६० प्रतिशत मात्रै बुकिङ भएको उनले बताएका छन्। टर्कीमा सिजनको समयमा कुल होटल कोठाहरूको ९५ प्रतिशत बुक गरिन्छ ।
कोरोनापछि विश्वका विभिन्न देशमा पर्यटकको संख्यामा कमी आएको छ । तर, कोरोनासँग सम्बन्धित प्रतिबन्ध फुकुवा भएपछि हरेक वर्ष विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । तर, टर्कीको पर्यटककाे संख्या घटेकाे छ ।
भूमध्यसागरीय तटमा रहेका अन्य पर्यटकीय स्थलहरूको तुलनामा टर्की भ्रमण गर्ने पर्यटकको संख्या निकै कम छ । विदेशी पर्यटकले अन्य सस्तो गन्तव्य रोज्ने गरेको देखिन्छ ।
होटलहरूलाई घाटा हुनुको एउटा कारण टर्कीमा मुद्रास्फीति नियन्त्रण बाहिर गएको छ । जसका कारण स्थानीय बासिन्दाहरू देशभित्र समेत घुम्न जान पाएका छैनन् ।
खेल पर्यटनको प्रभाव
टर्कीको पश्चिममा सेजमे नामक ठाउँ छ । नूर दामन यहाँ होटलकी मालिक हुन् । उनी भन्छिन्, ‘हाम्रो होटल समुन्द्रको किनारमा भएकोले मात्रै होटेलका कोठा भर्न सकेको छु, सहरको बिचमा रहेका अन्य होटेल संघर्षरत छन्, हामी सबैले आफ्नो कोठाको भाडा घटाउनुपर्छ, विद्युत महसुल र अन्य खर्च ह्वात्तै बढेको छ ।’
आधिकारिक तथ्यांकअनुसार टर्कीमा मुद्रास्फीति दर ६१.८ प्रतिशत छ । युरोपमा बसोबास गर्ने टर्कीका बासिन्दा पनि यसपटक बिदा मनाउन स्वदेश नआएको नूरको विश्वास छ ।
टर्कीका सरकारी अधिकारीहरूले खेलकुदसँग सम्बन्धित धेरै ठूला घटना वा प्रतियोगिताहरू युरोपमा भएको विश्वास गर्छन् । जसका कारण पनि टर्की आउनेको संख्या घटेको छ ।
जर्मनीले युरो २०२४, युइएफए युरोपियन फुटबल च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । जसका कारण थप ६ लाख विदेशी पर्यटक आउने अपेक्षा गरिएको थियो ।
पेरिस ओलम्पिक तीन हप्तासम्म चलेको थियो र यसका कारण ११ लाखभन्दा बढी पर्यटकले पेरिस भ्रमण गरेका थिए । टर्कीका संस्कृति तथा पर्यटनमन्त्री नुरी एरसोयले सेप्टेम्बरसम्म यही अवस्था रहने र पर्यटकको संख्या बिस्तारै बढ्दै जाने बताएका छन् ।
उनी भन्छन्, ‘अबटर्की आउने मानिसहरूको संख्या बढ्दै जानेछ, हालको तथ्यांकले यो वर्षको अन्त्यसम्ममा ६ करोड पर्यटक आगमनको लक्ष्य पार गर्ने देखाएको छ ।’
ग्रीसप्रति आकर्षण
ग्रीसले टर्कीका नागरिकका लागि भिसा प्रतिबन्धमा छुट दिँदा होटलहरूले पनि घाटा बेहोर्नु परेको दाबी गरिएको छ । यस वर्षको सुरुमा ग्रीस सरकारले भिसा एक्सप्रेस योजना सुरु गरेको थियो ।
यस योजनामार्फत टर्कीका नागरिकहरूलाई ग्रीसका १० वटा टापुमा पुग्नेबित्तिकै भिसा अन अराइभल अर्थात् भिसा दिने सुविधा दिइएको थियो ।
जसका कारण स्थानीय जनतामा यी स्थानप्रति आकर्षण बढेको छ । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यो पनि भनेका छन्– ‘ग्रीसका टापुहरू टर्किएका टापुहरूभन्दा सस्तो छन् ।’
टर्कीको एर्दोगान सरकारले मुद्रास्फीति नियन्त्रण गर्न प्रयास गरिरहेको त्यहाँका रिपोर्टहरूले बताएका छन् ।
टर्की पर्यटन संघ टुर्साबका प्रमुख फिरोज बगालिकायाले भने, ‘लागतमा खर्च भइरहेकोभन्दा विनिमय दर छिटो बढेको छ, जसका कारण यात्रा महँगो भएको छ, विशेषगरी होटलको कोठा ।’
प्रतिक्रिया