मानसरोवर कैलाश जाने सडक सञ्चालनमा

मानसरोवर कैलाश जाने सडक सञ्चालनमा


रसुवा ।  वर्षाका कारण मानसरोवर कैलाश जाने चीन तर्फको भू-भागमा शुक्रवार रातिदेखि अवरुद्व सडक आजदेखि सञ्चालनमा आएको छ ।

केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरी पुलबाट आउजाउ गर्न थालेका छन् ।

सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु  रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्‍याई गन्तव्य जान थालेका प्रजिअ खनालले जानकारी दिए ।

रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताए।