प्रहरीले जनताका मुद्दा बोक्नुपर्छ : गृह मन्त्री लेखक

प्रहरीले जनताका मुद्दा बोक्नुपर्छ : गृह मन्त्री लेखक


काठमाडौँ – गृह मन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन् ।

आज जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

गृह मन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरे । गृह मन्त्री लेखकले भने, ‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुपर्‍यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन् ।’

उनले नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जनताले उचित सेवा पाउनुपर्ने बताए । गृह मन्त्री लेखकले मुलुकमा दिगो शान्ति स्थापना गर्न, सुशासनको प्रत्याभूति दिन आफूहरू लागि परेको भन्दै १०० दिनमा केही निश्चित कामहरु पूरा गर्ने गरी तयारी भइरहेको बताए ।

‘नेपाल प्रहरी सम्बन्धी ऐन मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको स्थिति छ’ उनले भने, ‘चाँडै सदनमा पुर्‍याउनु छ, सशस्त्र प्रहरीका कानुन र प्रहरी सम्बन्धी अन्य कानुन संशोधनका लागि अगाडि बढेका छौं । सरकारको १०० दिनभित्र पूरा गरिनेछन् ।’