बाघ हुँ भन्न पनि भैँसीले मारिदियो, तर म कमजोर छैन : रवि लामिछाने

बाघ हुँ भन्न पनि भैँसीले मारिदियो, तर म कमजोर छैन : रवि लामिछाने


हेटौंडा । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो सफल नहुने बताएका छ्न् । चितवनमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले भ्रष्टाचारविरुद्ध घन्टी बजाएको कारण आफूहरूमाथि झूटो आरोप लगाएर बदनाम गर्न खोजिएको जिकिर गरे ।

लोकतान्त्रिक व्यवस्थामा जनता शक्तिशाली हुने भन्दै उनले आफूहरूसँग जनताको शक्ति रहेको दाबी गरे ।

‘हाम्रोमा हावा नलागी पात हल्लँदैन भन्ने चलन छ, तर त्यो हावा हैन, उनीहरूले फोक्सो फुट्ने गरी फुकेका छ्न्, त्यो नक्कली हावासँग रवि लामिछाने तर्सिनेवाला छैन, अब म बाघ हुँ भन्न पनि मिलेन, भैसीले मारिदियो नत्र बाघ नै हुँ भनिन्थ्यो, तर जति कमजोर सोचेका छ्न् त्यति कमजोर त रास्वपा हैन, त्यति कमजोर घन्टी हैन, त्यति कमजोर रवि लामिछाने छैन,’ उनको भनाइ थियो ।

भ्रष्टाचारको विषयमा हदम्यादको कुरा सदनमा उठेको बताउँदै उनले त्यो विधेयक आए कुनैपनि हालतमा पास गर्न नदिने बताए ।

‘भ्रष्टाचारीलाई जोगाउने र भ्रष्टाचार मौलाउने कुनै कानून कुनैपनि हालतमा पास गर्न दिँदैनौं । हामी जिउँदै छँदा आयो भने पनि हाम्रो लासमाथि टेकेरमात्र पास गरियोस्’, रविले चेतावनी दिए ।

कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले भने, ‘सदनमा आफूहरूसँग प्रमाण छ भन्दै कुर्लिनेहरूलाई प्रमाण भए आफ्नो घरको भित्तामा ल्याएर टाँसिदिन चुनौती दिन्छु । कीर्तेहरूले निकाल्ने पत्रिकामा ठूलाठूला हेडलाइन बनाउँदैमा म डराउँदिनँ ।’

सहकारीको विषयमा रातको एक बजेसम्म आफूले एउटामात्र सत्य प्रमाण पेश गर्नु म राजनीति छाडिदिन्छु भनेर बयान दिएको बताउँदै छोटो समयमा देशभर घन्टी बझेकोले उनीहरु आत्तिएर विभिन्न आरोप लगाएको उनको दाबी छ ।

२०८४ सम्ममा आफूहरूविरुद्ध झुट प्रचार गर्न ठूलाठुला स्पिकर बोकेर आउने भन्दै ती झुटको प्रचारकलाई घन्टी बजाएर देखाइदिने उनले बताए ।