नेकपा एसमा किन हारिन् रामकुमारी

नेकपा एसमा किन हारिन् रामकुमारी


काठमाडौं । केन्द्रीय सदस्यहरुबीच मतदान गराएर एकीकृत समाजवादीले पदाधिकारी टुंग्याएको छ । अध्यक्ष, सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध भएकाले बाँकी १७ पदमा मंगलबार मतदान भएको हो । मंगलबार साँझबाट पदाधिकारी छान्न गरिएको मतदानको नतिजा राति नै आएको थियो । अन्तिम मत परिणाम आउँदा भने केही त्यस्ता नेताहरु पराजित भए, जो एमालेबाट एकीकृत समाजवादी बन्दाका संस्थापक फेस थिए । हुन त २०७८ भदौमा एकीकृत समाजवादी बन्दा एमाले छोड्ने जति सबैलाई उक्त पार्टीले संस्थापक नेता भन्ने गरेका छन् । तर तीमध्ये पनि डा।विजय पौडेल, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, केशवलाल श्रेष्ठ, राजेन्द्र राई, रामकुमारी झाँक्री, विरोध खतिवडाहरु एकीकृत समाजवादी बनाउने फेस भनेर चिनिन्थे ।

माधव नेपालको अध्यक्षतामा बनेको एकीकृत समाजवादीमा उनीहरुमध्ये धेरै जना पदाधिकारी र अरु महत्वपूर्ण भूमिकामा थिए । तर मंगलबार भएको मतदानबाट यी नेताहरुमध्ये विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ लगायत नेताहरुले पदाधिकारी जित्न सकेनन् ।
किन हारिन रामकुमारी

रामकुमारी पराजित भएपछि मात्र नभई मतदान अघि पनि यो प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो । घनेन्द्र बस्नेतको उम्मेदवारी फिर्ता गराएर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई निर्विरोध चयन गरिरहँदा पनि महिला उपाध्यक्ष पदबारे छलफल भएको थियो ।तर घनेन्द्रलाई उम्मेदवारी फिर्ता लिन दबाब दिने नेताहरुले यो पदबारे धेरै चासो दिएनन् । अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भूसाल समूहबीच गुटगत प्रतिस्पर्धा भएको मतदानमा रामकुमारी एकपटक दुवैतर्फका उम्मेदवार जस्ता देखिएकी थिइन् ।

तर महासचिव भूसाल समूहले आफ्नो समूहमा जयन्तीलाई राखेपछि रामकुमारीको नाम अध्यक्ष नेपाल समूहले चिटमा राखेरै बाँडेको थियो । यद्यपि जित्न सकिनन् । मतदान भइरहँदा अर्को रमाइलो दृश्य देखियो ।किनकि रामकुमारीलाई राजनीतिक वृत्तमा घनश्याम भूसाल नजिक मानिंदै आएको थियो भने जयन्ती लामो समयदेखि माधव नेपाललाई साथ दिंदै आएकी नेतृ हुन् । तर फरक समूहको सूचीमा रहँदै रामकुमारी हारिन् भने जयन्तीले जितिन् । राष्ट्रिय चर्चाकी रामकुमारीलाई हराइरहँदा जयन्तीले पदाधिकारीहरु मध्ये सबैभन्दा धेरै मत पाउने कीर्तिमान नै बनाइन् । रामकुमारीले ११२ मत ल्याउँदा जयन्तीले १९९ मत ल्याएकी थिइन् ।

उक्त पार्टीका नेताहरु भने पछिल्लो परिवर्तनको चर्चाले रामकुमारी चिनिए पनि पार्टी वृत्तमा जयन्तीको राम्रो प्रभाव रहेको बताउँछन् ।रामकुमारीलाई हराएर चर्चामा आएकी जयन्तीले अढाइ वर्ष अगाडि पनि यस्तै नतिजा निकालेकी थिइन् ।१२ माघ २०७८ मा राष्ट्रिय सभा सदस्यको चुनाव भएको थियो । त्यो चुनावमा जयन्ती पाँच दलीय गठबन्धनबाट उम्मेदवार थिइन् ।उनलाई चुनाव जित्न आफ्नो दलको मतले पुग्ने कुरै थिएन । समर्थन गर्ने दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका मत पूरापूर आउनुपर्ने थियो ।

उनीसँगै तत्कालीन गठबन्धनका अर्का उम्मेदवार थिए, हेमराज राई । जसपाबाट उम्मेदवार बनेका हेमराजले त्यो चुनाव जित्न सकेनन् । हेमराजलाई एमालेका सोनाम शेर्पाले हराइदिए ।तर जयन्तीले जितिन् । कोशी प्रदेशबाट राष्ट्रिय सभाको महिला कोटामा एमालेकी सुमित्रा भण्डारीलाई हराउँदै जयन्ती राष्ट्रिय सभा सदस्य निर्वाचित भइन् । जयन्तीले ४ हजार ६९२ मतभार ल्याएर जित्दा एमालेकी सुमित्राले ४ हजार ३६२ मतभार मात्र ल्याएकी थिइन् । त्यतिबेला जयन्तीको लामो इतिहास र मिजासिलो स्वभावका कारण कतिपय एमालेकै मत समेत पाएको चर्चा पनि चलेको थियो ।राष्ट्रिय सभा सदस्य जितेपछि उनी अहिले विधायन व्यवस्थापन समिति सभापति नै छन् । विधायन समितिमा पनि उनको भूमिका समन्वयकारी नै रहेको टिप्पणी हुन्छ ।

उक्त पार्टीका नेताहरु भने पछिल्लो परिवर्तनको चर्चाले रामकुमारी चिनिए पनि पार्टी वृत्तमा जयन्तीको राम्रो प्रभाव रहेको बताउँछन् । ‘रामकुमारीको पार्टी बाहिर धेरै आकर्षण छ, तर पार्टीभित्र जयन्तीको योगदान र संघर्ष बुझ्ने पंक्ति ठूलो छ’, जयन्ती निकट एक नेता भन्छन् ।यस्तो टिप्पणी हुनुमा जयन्तीको पार्टी सक्रियताको इतिहासले काम गरेको सहज अनुमान लगाउन सकिन्छ । भोजपुर टेम्के मैयुङकी जयन्तीको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट शुरु भएको थियो ।पञ्चायतलाई धक्का दिने त्यो विद्यार्थीमा सहभागी भएकी जयन्तीले लगत्तै अखिल नेपाल महिला संघ ९अनेम संघ० बाट राजनीति गरिन् । २०५४ सालमा भोजपुर जिल्ला विकास समितिको उपसभापति निर्वाचित भइन् ।२०६२र६३ सालको दोस्रो जनआन्दोलनपछि जयन्तीलाई एमालेले प्रतिनिधि सभा सदस्य बनायो । लगत्तै २०६४ सालको पहिलो संविधान सभा चुनावमा भोजपुर १ मा माओवादीका पदम राईसँग पराजित भइन् । २०७० मा भने समानुपातिकबाट सभासद बनिन् ।

पार्टी राजनीतिमा २०६५ सालमा सम्पन्न बुटवलको आठौं राष्ट्रिय महाधिवेशनबाटै एमाले केन्द्रीय सदस्य निर्वाचित भइन् । नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य फेरि जितिन् । सधैं माधव नेपाललाई साथ दिंदै आएकी जयन्तीले २०७८ मा पार्टी फुट्दा एमाले छोडिन् ।एकीकृत समाजवादी बन्दा जयन्ती अनेम संघको केन्द्रीय अध्यक्ष बनिन् भने पार्टीको उपाध्यक्षमा चयन भइन् । अर्थात् उनी अनेम संघकी केन्द्रीय अध्यक्ष, राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिको सभापति र पार्टी उपाध्यक्ष भएर एकीकृत समाजवादीभित्र बलियो पकड बनाउने अवसर पाएकी थिइन् । जसको लाभ उठाउँदै रामुकमारी झाँक्रीलाई सहजै हराउँदै उपाध्यक्ष पदमै दोहोरिन सफल भइन् ।

यद्यपि यो मतदानलाई लिएर पार्टीभित्र चर्को असन्तुष्टि देखिएको छ । आफू अनुकूल केन्द्रीय सदस्य चयन गर्ने र तिनै केन्द्रीय सदस्यहरुको मतदानबाट पदाधिकारी चयन गर्दा नेतृत्वको रोजाइमा नपर्नेहरुले पराजित हुनुपरेको टिप्पणी भइरहेको छ । गत १६–२१ असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनको हलबाट माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव निर्विरोध भएका थिए । बाँकी पदाधिकारी सहित २९९ केन्द्रीय सदस्य टुंग्याउने जिम्मा यी तीनलाई दिइएको थियो । जसअनुसार २२ असारमै ९३ जना केन्द्रीय सदस्य चयन भए । यसको एक महिनापछि गत १८ साउनमा २५१ जना केन्द्रीय सदस्य मनोनीत गरियो । र मंगलबार ९११ भदौंमा० पदाधिकारी चयन भएका छन् ।