सचिव ज्ञवालीले दिए राजीनामा

सचिव ज्ञवालीले दिए राजीनामा


काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेको थियो । उनी आगामी २२ भदौमा अवकाशमा जाँदै थिए । तर, सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।

तर, मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग भेटघाट गरेर मुख्यसचिवका लागि तयार रहन भनेका थिए । यो सन्देश पुगेलगत्तै ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका थिए ।

स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो । गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।

राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए ।