भैरहवाबाट ढिलोचाँडो अन्तर्राष्ट्रिय उडान हुन्छ : पर्यटनमन्त्री पाण्डे

भैरहवाबाट ढिलोचाँडो अन्तर्राष्ट्रिय उडान हुन्छ : पर्यटनमन्त्री पाण्डे


बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाबाट ढिलोचाँडो अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् ।

शुक्रबार विमानस्थल निरीक्षणका लागि भैरहवा आएका उनले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कार्ययोजना बनेको बताए ।

विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुटसहित हवाइ कम्पनीहरुलाई आकर्षित गराउन खोजिएको बताए ।

उनले गौतमबुद्ध विमानस्थल बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै ढिलोचाँडो अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए । मन्त्री पाण्डेले अध्यागमन कार्यालयलगायत आवश्यक सेवाहरु भैरहवामा छिटै सुरु गर्ने बताए ।

बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको उनको भनाइ छ । निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा मन्त्री पाण्डेले जानकारी दिएका थिए ।

त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफूहरुले बौद्ध धर्मावलम्बी राष्ट्रहरुसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चीन लगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरुसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकारात्मक जवाफ आएको बताए ।

मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्धजन्मस्थल आएको अनुभूति दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले भैरहवा विमानस्थल चितवनदेखि सुदुरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।

उनका अनुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलाईसम्म ९२३ जनाले मात्रै उडान गरेका छन् ।

मन्त्री पाण्डेसहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिंदा आफूहरुको अर्बौं लगानी जोखिममा परेको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका छन् ।