काँक्रेविहार (सुर्खेत) – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् ।
आज सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, “१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।”
उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्रको केन्द्र बन्ने र खेलाडीको वृत्तिविकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। रङ्गशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । रङ्गशालामा विभिन्न राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उनको भनाइ थियो ।
अनुगमनका क्रममा कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वखेलकुदमन्त्री विमला केसी, कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्जाललगायत पदाधिकारीको उपस्थिति थियो ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलगायत खेल पदाधिकारीलाई बधाई दिनुभएको छ । रङ्गशाला अनुगमनपछि उनले यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको बताए ।
प्रतिक्रिया