पेट्रोलियम पदार्थको मूल्य समायोजन, हवाई इन्धनको पनि मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य समायोजन, हवाई इन्धनको पनि मूल्य घट्यो


काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ। २०८१ वैशाख १८ यता हवाई इन्धनको मूल्य पहिलो पटक समायोजन भएको छ।

निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाइएको छ। यस्तै, डिजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घटेको छ। एलपी ग्यासको मूल्य भने यथावत् छ।

यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर ३५ ले मूल्य घटाइएको छ।

समायोजित मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो र तेस्रोमा क्रमशः १६२ र १६३ रुपैयाँ कारोबार हुनेछ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५१ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रो वर्गमा क्रमशः १५३ र १५४ रुपैयाँमा कारोबार हुनेछ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर १३२ रुपैयाँ कारोबार हुनेछ। अन्तर्राष्ट्रियतर्फ (काठमाडौं) प्रति किलोलिटर १००५ अमेरिकी डलरमा कारोबार हुनेछ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय हवाई इन्धन भने ९०५ प्रति किलोलिटर अमेरिकी डलरमा कारोबार हुनेछ।