विश्वप्रकाशलाई रोक्दै देउवाले भने- कसैले छोड् भन्दैमा छोड्दिनँ, मैले छोड्नुपर्छ भन्ने छैन

विश्वप्रकाशलाई रोक्दै देउवाले भने- कसैले छोड् भन्दैमा छोड्दिनँ, मैले छोड्नुपर्छ भन्ने छैन


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले नै पार्टी नेतृत्व र संसदीय दलको नेता अहिल्यै नछोड्ने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न र त्याग गरेर देखाउन बताएपछि देउवाको यस्तो जवाफ आएको हो ।

विश्वप्रकाशले बैठकमा बोल्ने क्रममा ०८३ असारमा नेकपा एमाले अध्यक्ष केपी शर्म ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि सत्ताको बागडोर सम्हाल्ने योजना त्याग्न देउवालई सुझाएका थिए ।

विश्वप्रकाशको प्रस्ताव- ओलीपछि कांग्रेसबाट देउवा होइन अरुलाई प्रधानमन्त्री बनाऊँ
तर देउवाले बैठकमा बोलिरहेका शर्मालाई रोक्दै अहिले आफूले नेतृत्व छाडिहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएका हुन् । उनले प्रधानमन्त्री हुने योजनाबाट पनि आफू पछि नहट्ने जवाफ शर्मालाई दिए ।

‘तपाईंले छोड् भन्नुभयो, ठीक छ त्यो तपाईंको विचार हो’, बोलिरहेका शर्मालाई रोक्दै देउवाले फर्काएको जवाफ उद्धृत गर्दै एकजना केन्द्रीय सदस्यले भने, ‘कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिनँ ।’

यसअघि बैठकमा बोल्दै महामन्त्री शर्माले नेकपा एमालेसँग गत असार १७ गते राति भएको ७ बुँदे सहमतिअनुसार ०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकार टिकाएर लैजानुपर्ने बताएका थिए ।

शर्माले एमालेसँग भएको सहमतिअनुसार २०८३ असारबाट ओली बिदा भएपछिको प्रधानमन्त्रीका लागि सभापति देउवाले लोभ गर्न नहुने बताएका थिए ।

‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नु हुन्न’, उनले भनेका थिए, ‘आफ्नै पुस्ताका कोही आदरणीय नेतालाई प्रधानमन्त्री बनाउन उहाँले नै प्रस्ताव गर्नुपर्छ ।’