भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको परराष्ट्रमन्त्रीको दाबी

भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको परराष्ट्रमन्त्रीको दाबी


काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको स्वीकार गरेकी छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री देउवाले हालै भएको भारत भ्रमणबारे जानकारी गराएकी थिइन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् ।

भारतीय पक्षसँग भएको भेटमा दुई देशका संयन्त्रहरुलाई सक्रिय बनाउने विषयमा कुराकानी भएको मन्त्री देउवाले जानकारी दिइन् ।

पञ्चेश्वर परियोजना, एयर रुटबारे कुराकानी भएको भन्दै उनले भनिन्, ‘बाउन्ड्री वर्किङ ग्रुपको कुरा भएको छ । उहाँहरुले हुन्छ भन्ने कुरा राख्नु भएको छ । तर यस्तै गर्ने भन्ने भएको छैन ।’

भेटवार्ताहरुमा आफूले ईपीजीको प्रतिवेदनको विषय भने नउठाएको उनले बताइन् । दुबै देशका प्रतिनिधिहरुले बनाएको यो प्रतिवेदन उपयुक्त समयमा बुझ्ने उनको विश्वास छ ।

मन्त्री देउवाले अगाडि भनिन्, ‘यो पालिको भ्रमणमा चाहिँ हामीले पनि उठाएनौं, हामीले पनि उठाएनौं । दुबै देशको प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफल/कारबाही हुन्छ होला भन्नेमा आशावादी छु ।’