एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा

एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा


काठमाडौं । नेकपा एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको छ।

आजबाट सुरु हुने पोलिटब्युरो बैठकमा प्रदेश अध्यक्षहरूलाई नबोलाएसँगै प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको हो।

अध्यक्ष केपी शर्मा ओलीले साउन २२ गते जारी गरेको अन्तरपार्टी निर्देशिका–१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ। यसअघि प्रदेश अध्यक्षहरू पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था थियो।

केन्द्रीय सदस्यहरू नै प्रदेश अध्यक्ष बन्न तल झरेपछि एमालेले सो व्यवस्था हटाइएको हो। एमालेको पोलिटब्युरो बैठक अहिले केही बेरमा पार्टी कार्यालय च्यासलमा बस्दैछ।

बैठकमा भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने तयारी गरेको छ।

सरकारको समीक्षा गर्नुका साथै पछिल्ला समसामयिक विषयमा बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

बैठक भोलिसम्म चल्नेछ । एमालेमा अहिले ९५ जनाको पोलिटब्युरो सदस्य रहेका छन्।