विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित


काठमाडौं । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बुधबार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले विधेयक संशोधनसहित पारित गरेको हो ।

विधेयकसम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले बताइन् । समितिको बैठकले उक्त विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा समितिका सदस्यले सरकारले दिएको कार्यतालिकाअनुसार कानून निर्माण कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले कानून निर्माण प्रक्रियालाई पारदर्शी र गुणस्तरीय बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सरकारले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न पनि समयमै कानून निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकाले ती विषयलाई पनि कानूनमा समेटेर अघि बढ्न आवश्यक रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले तत्काल कुनै विधेयक तर्जुमा गर्नुपरे बाधा नआउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले सरकारले ल्याएको कानून निर्माणसम्बन्धी कार्यतालिका तलमाथि गर्न नहुने पनि बताइन् ।