रेखा शर्मासम्बन्धी बालेनको पोस्ट रिकभर

रेखा शर्मासम्बन्धी बालेनको पोस्ट रिकभर


काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टाइमलाइनबाट गायब भएको एउटा फेसबुक पोस्ट ४ दिनमा रिकभर भएको छ । बालेनको सचिवालयले फेसबुकसँग समन्वय गरेर पोस्ट रिकभर गर्न सफल भएको हो ।

एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै बालेनले भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । शर्माको तस्विरसहित उनले गरेको पोस्ट दुई दिनपछि डिलिट भएको थियो ।

एमालेका कार्यकर्ता तथा समर्थक बालेनले झूटो आरोप लगाएको भन्दै आक्रोशित बनेका थिए । उनीहरुले व्यापकरुपमा रिपोर्ट गरेपछि फेसबुकले कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको सूचना पठाएर पोस्ट हटाइदिएको थियो । एमाले कार्यकर्ताले भने बालेन स्वयमले आफ्नो पोस्ट डिलिट गर्न बाध्य भएको दाबी गर्दै आएका छन् ।

बालेनको सचिवालयले पोस्ट खुलाउनका लागि फेसबुकमा पत्राचार गरेको थियो । अन्ततः फेसबुकले आज पोस्ट फेरि ‘शो’ गरेको छ । फेसबुकले माफीसमेत मागेको छ ।

बालेनलाई पठाएको फेसबुकको नोटिसमा भनिएको छ, ‘हामीले यसलाई गलतरुपमा लिएकोमा दुःखी छौं । हामीले तपाईंको पोस्ट फेरि पुनरावलोकन गर्यौं र हाम्रो सामुदायिक मापदण्डअनुरुप नै भएको पायौं । तपाईंले पुनरावलोकनका लागि अनुरोध गर्न समय निकाल्नुभएकोमा आभारी छौं । तपाईंको प्रतिक्रियाले हामीलाई राम्रो गर्न सहयोग मिल्नेछ ।’