मुग्लिन–पोखरा सडक बनाउन चिनियाँ ठेकदारले माग्यो थप १५ महिना

मुग्लिन–पोखरा सडक बनाउन चिनियाँ ठेकदारले माग्यो थप १५ महिना


पोखरा । निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गर्न माग गरिएको छ ।

चिनियाँ निर्माण कम्पनी र सरकारबीच भएको सम्झौताअनुसार पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक निर्माण अहिलेसम्म सकिइसक्नुपर्ने थियो । तर मुग्लिन–जामुने (पूर्वी खण्ड) मा ६४ र जामुने–पोखरा (पश्चिम खण्ड)मा ३० प्रतिशत मात्र काम भएको छ ।

मुग्लिन–पोखरा सडक खण्डलाई ४० देखि ६० किलोमिटर प्रतिघण्टाको दूरीमा गाडी गुडाउन मिल्ने गरी ६ लेन र ४ लेनको सडकको ठेक्का दुई चिनियाँ कम्पनीले पाएका थिए ।

मुग्लिनदेखि तनहुँको जामुनेसम्मको ४१ किलोमिटर पूर्वी खण्डको लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनसँग २०७७ साल माघ १७ गते ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ साल वैशाखसम्म निर्माण सक्नुपर्ने थियो ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्मको निर्माणको जिम्मेवारी चीनकै यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रसनले पाएको छ ।

२०७८ जेठ २ गते भएको ७ अर्ब ४० करोड ४६ लाखमा सम्झौता अनुसार यही भदौभित्र काम सक्नुपर्ने थियो ।

पछिल्लो पटक पूर्वी खण्डको म्याद १५५ दिन थपिएको छ भने पश्चिम खण्डको १०१ दिन म्याद थप भएको छ । चिनियाँ निर्माण कम्पनीले खानेपानीको पाइप, बिजुलीका पोल तथा तार व्यवस्थापनको काम बेलैमा नगरिदिएका कारण ढिला भएको भन्दै अझै थप समय पाउनुपर्ने माग गरिराखेको छ ।

पश्चिम खण्डको ठेक्का पाएको चिनियाँ कम्पनी कन्ट्र्याक्टक म्यानेजर चेन योङले शुक्लागण्डकी गाउँपालिका, म्याग्दे गाउँपालिकाले बेग्लाबेग्लै घाट राखेर निर्माण सामग्रीको कर लिँदा पनि समस्या भएको गुनासो गरे ।

बर्षामा निर्माण सामग्री निकाल्न असहजता भएकाले पनि निर्माण प्रभावित भएको उनको भनाइ छ । मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा साढे ५०० कर्मचारीले काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ । सरकारले समन्वय गरिदिने हो भने अबको १५ महिनाभित्र काम सक्ने उनको प्रतिवद्धता छ ।