सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा


पोखरा । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए । लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका थिए ।

कार्यक्रम सुरु हुनुअघि सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए । पीडितहरुले गाेर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

लामिछाने गाेर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेकाे मुद्दामा मुछिएका छन् । उनीमाथि छानविन भइरहेकाे छ ।