काठमाडौँ – अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग हार बेहोरेको छ ।
कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो । यसँगै कोलम्बियाले कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला पनि लिएको छ ।
अर्जेन्टिनी टिममा लियोनल मेसी भने थिएनन् । कोलम्बियाले येरसन मोस्क्वेराको गोलले अग्रता लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए ।
खेलले एक घण्टा छुँदा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे । निकोलस ओटमन्डले ड्यानिएल मुनोजलाई लडाएपछि ‘भार’ ले कोलम्बियाको पक्षमा पेनाल्टीको निर्णय गरेको थियो ।
हारका बाबजुद अर्जेन्टिना १८ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । उसको पछाडि कोलम्बियाको १६ अंक भएको छ । मंगलबारका अन्य खेलमा इक्वेडरले पेरुलाई १–० र बोलिभियाले चिलीलाई २–१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।
प्रतिक्रिया