निर्वाचन जित्ने गरी मेहनत गर्नुपर्छ : गगन थापा

निर्वाचन जित्ने गरी मेहनत गर्नुपर्छ : गगन थापा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केही समयभित्रै स्थानीय तहका रिक्त ठाउँमा उपनिर्वाचन हुने भएकोले त्यसको तयारी गर्नुपर्ने बताएका छन्।

पार्टीबाट उम्मेदवार भई उत्कृष्ट काम गरेका गाउँपालिका र नगरपालिका प्रमुखलाई सम्मान गर्न सानेपामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै थापाले चुनावअघि जनतासँग गरिएका बाचा पूरा गरिनुपर्ने बताए। ‘जनतासँग केही बाचा गरेर हामीले यो जिम्मेवारी पाएको हो। त्यसअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रा काम पनि गरेको छ तर प्रचार भइरहेको छैन।’

उनले काँग्रेस संघीयतालाई बलियो बनाउन चाहने पनि बताएका छन्। ‘संघीयतालाई बलियो बनाउनुपर्छ। संविधान बनाउने बेला केही ध्यान नपुगेको रहेछ भने पनि पुनरावलोकन गर्न सकिन्छ,’ उनले भने। उनकाअनुसार असोजमा पार्टीले स्थानीय तहसँग संवाद गर्न प्रतिनिधि पठाउने छ।

‘स्थानीय तहमा काँग्रेस प्रतिनिधिले गरेको काम जनतासामु सही ढंगले जानकारी गराउनुपर्छ तर त्यो अभाव देखिन्छ,’ उनले भने, ‘केही दिनपछि ३४ ठाउँमा निर्वाचन हुँदैछ। तीमध्ये २१ ठाउँ काँग्रेसले जितेको हो त्यो कायम गर्दै थप मेहनत गर्नुपर्छ।’ साथै उनले संविधान पुनरावलोकन गर्नुपर्ने बताए।

काँग्रेस र एमालेबीच ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले अझै सशक्त रूपमा संघीयतालाई बलियो बनाउन संविधान संशोधन हुनुपर्ने बताए। लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप बिस्तार आफूहरूले चाहेको उनको भनाइ छ।