असोज १३ गतेदेखि २२ गतेसम्म दशैंका लागि सुकिला नोट साट्न पाइने

असोज १३ गतेदेखि २२ गतेसम्म दशैंका लागि सुकिला नोट साट्न पाइने


नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ। राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने व्यवस्था गरेको हो।

‘२०८१ सालको दशैंमा माग हुने साना दरका नोट सटहीको लागि यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ।

साथै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गइ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।