अमेरिकामा ओली-मोदी भेट तय,साइडलाइन वार्ताका लागि भारत तयार

अमेरिकामा ओली-मोदी भेट तय,साइडलाइन वार्ताका लागि भारत तयार


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तय भएको छ। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन शुक्रबार अमेरिका प्रस्थान गरेका ओली र मोदीबीच आइतबार न्युयोर्कमा स्थानीय समयअनुसार विहान साढे ५ बजे भेट हुने तय भएको ओलीको सचिवालयका सदस्यले बताए।

असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। दुई छिमेकी प्रधानमन्त्रीबीच साइडलाइन वार्ता हुने छ। चौथो पटक ओली प्रधानमन्त्री भएपछि पहिलो पटक मोदीसँग भेटवार्ता हुन लागेको हो।

मोदीसँग वार्ताको तालिका मिलाउन ओलीले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पटक पटक बोलाएर छलफल गरेका थिए। तर, भारतीय पक्षले ओलीलाई मोदीसँग भेटवार्ता गराउन सुरुमा अस्वीकार गर्दै आएको थियो। तर, शुक्रबार भारतीय पक्षले मोदीसँग भेटवार्ताको तालिका मिलाएको हो।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने ‘समिट फर द फ्युचर’का लागि मोदी आइतबार न्युयोर्क पुग्ने तालिका छ। उनी त्यहाँ पुगेपछि सुरुमा ओलीसँग साइडलाइन वार्ता हुने तय भएको हो। ‘भारतले भेट्ने तालिका राखेको छ,’ ओलीको सचिवालयका एक सदस्यले भने,’त्यसका लागि हामीले लगातार तयारी गरेका थियौं।’

ओलीले प्रधानमन्त्रीको जिम्मेवारी असार ३१ गते सम्हालेकै भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिए। तर, भारत भ्रमणको निम्तो दिएनन्। करिब एक महिनापछि अर्थात साउन २७ गते भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आए। ‘परिचयात्मक’ भ्रमणमा आएका मिश्रीमार्फत ओलीले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको सन्देश पठाए। उनले त्यतिखेर मिश्रीमार्फत मोदीलाई नेपाल भ्रमणको निम्तो दिए। तर, मिश्रीसँग मोदीको निम्तो कार्ड थिएन।

त्यसको एक सातापछि अर्थात असोज २ गते ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणालाई दिल्ली पठाए। राणाले ६ गतेसम्म भारत भ्रमण गरिन्।

भ्रमणका क्रममा राणाले समकक्षी एस जयशंकरका साथै मोदीसँग पनि भेटवार्ता गरिन्। उनले ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्ता दिइन्। तर, मोदीले ओलीलाई स्वागत गर्न नचाहेको सन्देश दिए। राणामार्फत पनि ओलीले मोदीसँग भेटको कुराकानी गर्न प्रस्ताव गरेका थिए।

ओलीले पछिल्लो समय भारतलाई चिढ्याउने अभिव्यक्ति दिइरहेको चर्चा हुने गरेको थियो। ओलीले राष्ट्रसंघीय महासभामा जानुपहिले भारत भ्रमण गर्न चाहेका थिए। तर, अनेक प्रयास गर्दा पनि सफल नभएपछि उनले भारतलाई ‘इरिटेड’ बनाउने अभिव्यक्ति दिएको परराष्ट्रविदहरुले बताउने गरेका छन्।

ओलीले मोदीसँगको भेटवार्तामा मोदीलाई आश्वस्त बनाउन चाहिरहेको परराष्ट्रमन्त्रालयका अधिकारीहरु बताउँछन्। आफू नेतृत्वको सरकार आएपछि भारत त्यति खुसी नभएको बुझाइमा रहेका ओलीले आफूप्रतिको धारण बदल्नका लागि मोदीलाई आश्वस्त पार्न खोजेका हुन्।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन भारतले ६ वर्षदेखि बुझ्न मानिरहेको छैन। ओलीले भदौ दोस्रो साता सार्वजनिक मञ्चबाट प्रतिवेदन भारतले बुझ्नुपर्ने अभिव्यक्ति दिए। ‘हामीहरुले चाहिँ बुझ्न नभ्याएको छैन। तर, भारततिरबाट अलिकति भ्याइराखेको स्थिति छैन,’ ओलीको यो अभिव्यक्तिलाई कूटनीतिक मामिलाका जानकारहरुले भारतलाई ‘इरिटेड’ बनाउने कदमका रुपमा लिएका छन्।

अमेरिका भ्रमणबारे भदौ ३१ गते संसद्लाई जानकारी दिने क्रममा पनि ओलीले भारतलक्षित कडा टिप्पणी गरे।

‘राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता छ। नेपाल असल छिमेकीका रुपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ। छुद्र र जाली छिमेकी होइन। असल छिमेकीको रुपमा, छिमेकीको अहित चिताउने छिमेकीको रुपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रुपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरुबाट पनि चाहन्छ,’ ओलीले भारतलाई लक्षित गर्दै भनेका थिए।

ओलीले संसदमै नेपालको आन्तरिक मामिलामा भारतले अनावश्यक चासो दिएको आशयको अभिव्यक्ति दिए। ‘संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित नीति छ। त्यो कुरा पनि हामी संयुक्त राष्ट्रसंघमा राख्ने छौं,’ उनले भने।