थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही, छानविन गर्न समिति गठन

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही, छानविन गर्न समिति गठन


जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएको घटनाको छानविन गर्न छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले अलग अलग छानविन समिति गठन गरेका हुन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । गुरुङका अनुसार समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए । जसमध्ये ७ जना पक्राउ परिसकेका छन् भने २ जना अझै फरार छन् ।

थुनुवा फरार भएको घटनापछि मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया लगायतले हिरासत कक्षको अवलोकन समेत गरेका छन् ।

थुनुवा भाग्नुमा प्रहरीको चरम लापरबाही रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।