नेपालका किसानलक्षित करिब ३ अर्ब रुपैयाँको अमेरिकी परियोजना सुरू

नेपालका किसानलक्षित करिब ३ अर्ब रुपैयाँको अमेरिकी परियोजना सुरू


काठमाडौँ —अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर (२ अर्ब ८० करोड रुपैयाँ) बराबरको यूएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिङ परियोजनाको घोषणा भएको छ ।

नेपाली किसानहरूलाई लाभान्वित गर्न अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको यूएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिङ परियोजनाको घोषणा भएको हो ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी-नेपाल कन्ट्री प्लान २०२४-२०२८ को पनि उद्घाटन गर्दै त्यसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्न अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको थियो ।

यूएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिङ परियोजनाले संघीय, प्रदेश र स्थानीय सरकारहरुमार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरुमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई सुदृढ गर्नको लागि नेपाल सरकारको क्षमता अभिवृद्धि गर्नेछ । परियोजनाले ६९ हजार घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँ ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी – नेपाल कन्ट्री प्लान २०२४-२०२८ गरिबी, भोकमरी, र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ। यस योजना अन्तर्गत तराई र पहाडका २६ जिल्लाहरु समावेश हुनेछन् जस अन्तर्गत अमेरीकी सरकारको कृषि विकास कार्यक्रमलाई मधेस प्रदेशसम्म विस्तार गरि नेपालको सबैभन्दा जोखिममा रहेका जनसंख्यामा अझ बढी पहुँच बढाउने उल्लेख छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले ‘नयाँ ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी – नेपाल कन्ट्री प्लानले संयुक्त राज्य अमेरिकाको नेपाल सरकार, यहाँका निजी क्षेत्र र समुदायहरूसँगको विद्यमान साझेदारीलाई सुदृढ गरी समावेशी, उत्थानशील र दिगो विकास हासिल गर्ने बताए ।

उननले नयाँ सरकार-सरकारबीचको सम्झौता नेपालमा खाद्य सुरक्षालाई सुनिश्चित गर्ने हाम्रो सामूहिक प्रतिबद्धताको एक उदाहरण भएको बताए ।