नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक

नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक


काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, खेल हुने आधा घण्टाभन्दा कम समय बाँकी हुँदा पनि टस हुन सकेको छैन।

नेपाल पछिल्ला पाँच खेलमा पराजित छ। घरेलु टोली क्यानडासँग दुई खेलमा गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेलसमेत हार्न पुगेको थियो।
लिग– २ का सुरुआत सातमध्ये नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अंक जोडेको छ। लिगको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराउनुबाहेक नेपालले जित देख्न पाएको छैन। नामिबिया र नेदरल्यान्ड्ससँग घरेलु मैदानमा तीन खेल हारेको नेपाल क्यानडा भ्रमणमा जित निकाल्न सकेको छैन।

निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारदेखि दोस्रोमा छ। पुछारमा रहेको यूएई र नेपालको मात्र समान दुई अंक छ।

टिमका खेलाडी परिवर्तन गर्दा समेत ब्याटिङ लाइन चल्न सकेको छैन। तल्ला क्रमका ब्याट्सम्यानले नेपालको ब्याटिङलाई धरासायी हुनबाट जोगाएपनि माथिल्ला र मध्यक्रमका ब्याट्सम्यान चल्न सकेका छैनन्।

पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमका आफ्नो स्वभाविक लय पूर्ण रुपमा गुमाएको छ। जसले खेलाडी, प्रशिक्षक र टिममाथि दबाब थपिदै गएको छ।