काटिसकेको धान तत्काल भित्राउन अनुरोध

काटिसकेको धान तत्काल भित्राउन अनुरोध


काठमाडौँ । मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेको छ। यदि धान नकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरूले अनुरोध गरेका छन् ।

सूचना प्रवाहका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै आएको छ । माइकिङका लागि नगर प्रहरीहरू परिचालन गरिएको पालिकाले जनाएको छ ।

यसैगरी दाङको गढवा गाउँपालिकाले पनि सूचना जारी गरी काटिसकेको धान बाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरूलाई अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । महाशाखाका मौसमविद्‌का अनुसार अरब सागर र बंगालको खाडीको जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेकाले देशभर वर्षाको सम्भावना रहेको बताएका छन् ।