काठमाडौंमा मनाइयो जितिया पर्व

काठमाडौंमा मनाइयो जितिया पर्व


काठमाडौं– मैथिल र थारू समुदायका महिलाले विशेष रुपमा मनाउने जितिया पर्व काठमाडौंमा पनि मनाइएको छ ।

काठमाडौंमा बसोबास गर्दै आएका थारू समुदायले काठमाडौंमा मूल आयोजक समिति बनाएरै जितिया पर्व मनाएका हुन् ।

थारू महिला सभा, काठमाडौं उपत्यका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा विशेष पूजाआजा गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जितिया पर्वको शुभकामना दिँदै आफ्ना अधिकार स्थापीतका लागि एकीकृत हुन आग्रह गरे ।

तराई–मधेसका आमाहरुले निर्जल-निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने परम्परा रहेको छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ ।

वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी-सखर, भिजाएको केराउ, दही-च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।