जुम्लामा नुनको अभाव छैन: साल्ट ट्रेडिङ कर्पोरेसन

जुम्लामा नुनको अभाव छैन: साल्ट ट्रेडिङ कर्पोरेसन


जुम्ला- साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको छ । दसैँ तिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नुनको अभाव नहुने कार्यालयका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए।

जिल्ला सदरमुकामस्थित खलंगा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन मौज्दात रहेको उनले बताए। यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको जनाइएको छ । यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नुन वितरण गरिएको छ ।

कार्यालय प्रमुख थापाले भने “सिंजाको नराकोट डिपोबाट हिमा र सिंजा गाउँपालिका र गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नुन वितरण गरिएको छ । यस आर्थिक वर्षमा जुम्ला सदरमुकामसहित तीनै डिपोका लागि चार हजार क्विन्टल नुनको कोटा रहेको छ । जिल्लामा नुनको अभाव हुनेछैन ।”

वडाबाटै नुन वितरण गर्न आवश्यक व्यवस्था मिलाइएको छ । कार्यालयले सिंजाको नराकोट डिपो, कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपो र सदरमुकामस्थित खलंगा बजारको कार्यालयबाट नुन वितरण गर्दै आएको छ ।